तेह्रथुमका सहारा र बिनिताको स्वर्ण दौड, राष्ट्रिय प्रतियोगितामा सहभागी हुने तयारी
कोशी प्रदेशस्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेह्रथुमका खेलाडीहरूले शानदार प्रदर्शन गर्दै चार वटा पदक हात पार्न सफल भएका छन्। प्राप्त पदकमध्ये दुई स्वर्ण, एक रजत र एक कास्य पदक रहेका छन्।
एथलेटिक्स खेल अन्तर्गत, म्याङलुङ नगरपालिका–१० की सहारा लिम्बूले १५०० मिटर दौडमा स्वर्ण पदक जित्न सफल हुनु भएको छ। यस्तै, ३००० मिटर दौडमा पनि उहाँले कास्य पदक हात पार्दै व्यक्तिगत रूपमा दुई वटा पदक जित्नुभएको छ।

त्यस्तै, मेन्छयायेम गाउँपालिका–२ की बिनिता लिम्बूले ४०० मिटर दौडमा उत्कृष्ट प्रदर्शन गर्दै अर्को स्वर्ण पदक जित्न सफल हुनुभएको छ।

यस्तै शटपुट तर्फ यमकुमारी घोर्सानेले रजत पदक प्राप्त गर्नुभएको छ ।

तेह्रथुमका खेलाडीहरूको यस उत्कृष्ट प्रदर्शनले जिल्लाको खेलकुद क्षमतालाई उजागर गर्नुका साथै आगामी दिनमा खेल क्षेत्रमा थप योगदान पुग्ने विश्वास तेह्रथुम जिल्ला खेलकुद विकास समिति अध्यक्ष राजेन्द्र वरालले व्यक्त गर्नुभएको छ।
यसैबीच, सहारा लिम्बू र बिनिता लिम्बूले कोशी प्रदेशको तर्फबाट आउँदो २०८२ साल जेठ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुने १५औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने अध्यक्ष बरालले बताउनु भयो ।








प्रतिकृया दिनुहोस