मेन्छयायेम गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता नविकरण साउन १ गतेदेखि सुरु

मेन्छयायेम गाउँपालिका, मोराहाङ्ग, तेह्रथुमले सामाजिक सुरक्षा भत्ता नविकरणका लागि साउन १ गतेदेखि भदौ मसान्तसम्मको समय निर्धारण गरेको छ।

 

सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ तथा वितरण कार्यविधि, २०७७ को दफा ४ अनुसार, यस गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयमा स्वयम् उपस्थित भई निवेदन दिनुपर्ने भएको छ।

 

गाउँपालिकाका अनुसार, लाभग्राहीले अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनुका साथै राष्ट्रिय परिचयपत्रको आधारमा बायोमेट्रिक प्रमाणिकरण गर्नुपर्नेछ। यस प्रक्रियाबाट मात्र नयाँ आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक सुरक्षा भत्ता नियमित रूपमा प्राप्त गर्न सकिनेछ।

 

यसबाहेक, तोकिएको समयमा नविकरण नगरेमा सामाजिक सुरक्षा भत्ता स्थगित हुने स्पष्ट गरिएको छ। यस्तो अवस्थामा त्यसको सम्पूर्ण जिम्मेवारी स्वयं लाभग्राहीको हुने जानकारी गाउँपालिकाले दिएको छ।

 

भत्ता नविकरण गर्नका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, बालबालिकाको हकमा जन्मदर्ता र खोप वा तौल प्रमाणपत्र, अपाङ्गता परिचयपत्र, पतिको मृत्युदर्ता प्रमाणपत्र, र हालसालै खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

 

बालबालिका, पूर्ण अपाङ्ग र ९० वर्षभन्दा माथिका जेष्ठ नागरिकका हकमा संरक्षकले निवेदन दिन सक्ने व्यवस्था गरिएको छ। तर, अन्य सबै लाभग्राहीहरू स्वयम् उपस्थित हुनुपर्ने अनिवार्यता कायम गरिएको छ।

 

नविकरणको प्रमाणस्वरूप निस्सा बुझिलिनु पर्नेछ, र यो प्रक्रिया अनदेखा गरेमा भत्ता प्राप्तिमा समस्या आउनेछ।

 

सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन र पारदर्शिता कायम गर्न यो प्रक्रिया आवश्यक भएको गाउँपालिकाले जनाएको छ।

 

सामाजिक सुरक्षा भत्ता नविकरणसम्बन्धी यो सूचना मेन्छयायेम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभिषेक घिमिरेद्वारा जारी गरिएको हो।

प्रतिकृया दिनुहोस