लिम्बू जातिको धाननाच संरक्षणका लागि प्रतियोगिता ।
तेह्रथुम म्याङलुङ १२, भदौ ः ‘संस्कार सँस्कृतिको प्रवर्दन गरौ, लिम्बू पालाम तथा यालाङलाई संरक्षण गरौ’ भन्ने नाराका साथ कृण्ण जन्माष्ठमी लाखे जात्राको अवसरमा तेह्रथुमको म्याङलुङमा धाननाच तथा पालाम प्रतियोगिता सम्पन्न भएको छ ।
मंगलबार राति भएको प्रतिष्पर्धाको ९ प्रतियोगि टोलीलाई उछिन्दै फक्ताङलुङ याराक सयङ धरान विजेता बनेको छ ।
पछिल्लो युवा पिडिमा लोप हुदै गएको लिम्बू जातिको संस्कार संस्कृतिमा रहेको धाननाच संरक्षण र सम्वर्दन गर्ने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको धाननाच च्याबरुङ नाच प्रतियोगिता संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम कुमार पताङवाले बताउनुभयो ।
पहिला पहिला मेला बजारहरुमा साइनो नलाग्ने लिम्बु , लिम्बुनी तरुनी तन्नेरी हात समाएर पालामको भाका गाउँदै नाच्ने धाननाच । पछिल्लो युवा पुस्तामा हस्तान्तरण हुन नसक्दा धाननाचमा गाइने पालाम लोप हुने अवस्थामा छ ।
लिम्बुवानी क्षेत्रमा परापूर्वकाल देखि लिम्बू समुदायले नाच्ने धाननाच र गाइने पालामको संरक्षणकै लागि नगरपालिकाले प्रोत्साहन स्वरुप प्रतियोगिता संञ्चालन गर्न बजेट छुट्याएको म्याङलुङ नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले बताउनुभयो ।
जिल्ला भित्र र बाहिरका गरी धाननाच प्रतियोगिता टोलीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न म्याङलुङ नगरपालिकाले यस वर्ष १ लाख ५० हजार प्रदान गरेको छ ।
दुई कार्यकाल नगरप्रमुख हुनुभएका मेयर तुम्बाहाङ्फेले यस्ता संस्कार संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रम आयोजनाका लागि नगरपालिकाले वर्षेनी बजेट छुट्याउने गरेको बताउनुभयो ।
देशमा संकटकाल लागु भएपछि रातमा मेला लगाउन छाडेसँगै धान नाच्न छाडेकाले यो पछिल्लो पुस्तामा हस्तान्तरण हुन नसकेको प्रतियोगिताका सहभागि छथर गाउँपालिका २ का थानाहाङ तिगेलाले बताउनुभयो ।
‘पालामको भाकाहरु धेरै हुन्छन् सुख, दुखका कार्यहरु र मेला बजारमा गाइने पालामका शब्दहरु फरक हुन्छन् ’। पालामको भाका नै फरक हुने भएकाले पनि पछिल्ला युवा पुस्ताहरुले टिप्न नसकेको तिगेलाको भनाई छ ।
यसरी आयोजना गरिने प्रतियोगितामा पालाममा अव्वल कलाकारहरु टाढा टाढा बाट समेत आएर गाउँदा नया पुस्ताहरुले सिक्ने मौका पाउने धाननाच कार्यक्रमलाई अवलोकन गरिरहेकी म्याङलुङ १ की कुमारी लिम्बुले बताउनुभयो ।
आफ्नो टिम विजेता बनेसँगै उत्साहित भएकी सुनसरीबाट आउनुभएकी विजेता टिम फक्ताङलुङ याराक सयङ धरानकी सदस्य राधा फोम्बोले यो प्रतियोगिताकै लागि आफ्नो जन्मस्थल समेत रहेको तेह्रथुम ३० वर्षपछि आएको बताउनुभयो ।
प्रतियोगिताकाकै लागि यतिका वर्ष पछि आफ्नो गृहजिल्ला आउनुपाउँदा फोम्बोले खुसी व्यक्त गर्नुभयो ।
धाननाच प्रतियोगिताकै लागि धरानबाटै आउनुभएका अर्का तेह्रथुमकै जानुका श्रेष्ठले धाननाचले नाच मात्रै होइन पुराना धाननाच्ने साथीहरुलाई समेत जोडेको र आफ्नो गाउँठाउँको मेलामा आउँदा पुराना दिन सँग जोडेको बताउनुभयो ।
आधुनिक जीवनशैलीले एउटै घरका सदस्यहरुलाई अलग बनाइरहदा यस्ता संस्कार र सँस्कृतिले भाइचारा र भातृत्व सिर्जना गरेको श्रेष्ठको भनाई छ ।
आफू नेवार समुदायको भएपनि साथी संगीको लहलहैमा आफ्नो उमेरमा मेला हाट बजार गर्दा पालाम र धान नाच्न सिकेको श्रेष्ठले पालाम प्रति आफ्नो बाल्यकाल र जवानीसँगको साइनो रहेको बताउनुभयो ।
श्रेष्ठले पालाम गितहरु समेत रेकर्ड गराउनुभएको छ । आफ्नो जवानीमा मेला हाट बजारमा गाएर हिड्दा सिकेको पालाम अहिले यसरी हुने प्रतियोगिताले स्थान दिएको अर्का प्रतियोगि बिर्तामोड याराक सयङ समूह झापाकी सदस्य दुर्गा इङनामले बताउनुभयो ।
लिम्बू जातिको साँस्कृतिक धाननाच यसरी गरिने प्रतियोगिताले बिर्सिएको पालाम फेरी गाउने जोस आएको इङनामको भनाई छ । उहाको समूह प्रतियोगिताको तेस्रो बनेको छ ।
याक्थुङ लेखक संघका केन्द्रिय सदस्य सन्देश सुव्वाका अनुसार मुन्धुममा उल्लेख भएअनुसार परापूर्वकालमा थाङ्भङ्ना नामको चराले घैया धानको विउ उनीहरुलाई धपाउन नमिल्ने सर्तमा मानिसहरुलाई ल्याएर दिन्छ ।
त्यसपछि कृषि युगमा मानिसहरु प्रवेश गर्छन । पछि मानिसहरुले लगाएको बालिहरु दिनै चराहरुले खाइदिन थालेपछि पाकेको धान एकै ठाउँमा भेला गरेर सामुहिक रुपमा मानिसहरु भेला भएर वरिपरि घेरा हालेर घुम्दै हा हा भन्दै धान कुल्चिन थाले ।
यसरी यालाङ अर्थात धान कुल्चिदै सुरुवाल गरिएको नाच नै धाननाचको विकशित रुप भएको हो ।–––
वविता राई – ९७६२२१७६६८








प्रतिकृया दिनुहोस