कर्मचारी अभावका कारण नास्टका कार्यक्रम प्रभावित

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा जनशक्ति अभाव भएकाे छ।

नेपालमा विज्ञान र प्रविधिका विविध क्षेत्रमा अध्ययन र अनुसन्धान गर्ने उक्त संस्थामा लामो समयदेखि नियुक्ति प्रक्रिया राेकिँदा कर्मचारी अभाव भएकाे हाे।

जसले गर्दा नास्टका कार्यक्रम प्रभावित भएका छन्। नास्टले केही वर्षदेखि सुरु गरेको भूकम्पीय सूचना प्रणाली तथा पहिलेदेखि सञ्चालित विभिन्न कार्यक्रमका लागि जनशक्ति नपुगेकाे प्रविधि संकायका प्रमुख इञ्जिनियर डा प्रसाद ढकालले बताए।

प्रादेशिक संरचनाअनुसार हरेक प्रदेशमा शाखा खोल्ने नास्टको लक्ष्य छ। ढकालले भने, ‘तर त्यसका लागि पर्याप्त जनशक्तिकाे खाँचो छ।’ नास्ट आफैले सेवा आयोगमार्फत कर्मचारी नियुक्ति गर्न नमिल्ने भएकाले पनि कर्मचारी अभाव भएको बताइएकाे छ।

लोकसेवा आयोगको प्रक्रियाबमोजिम कर्मचारी नियुक्ति गर्दा समय लाग्ने भएकाले पहिले नास्ट आफैंले करारमा कर्मचारी नियुक्ति गर्दै आएको थियो। प्रविधि संकायमा अहिले करिब २५ कर्मचारी छन्। बीस जनासम्म कर्मचारी थप भए काम गर्न सहज हुने नास्टले जनाएकाे छ।

देशभर नै प्राविधिक जनशक्ति पर्याप्त नहुनु र भएका पनि अध्ययनका लागि विदेश जाँदा नास्टमा जनशक्ति अभाव भएकाे प्रमुख ढकालकाे भनाइ छ। 

प्रतिकृया दिनुहोस