इरिक्सनको गोलमा टोटेनह्याम विजयी

एजेन्सी । इन्जुरी समयमा क्रिष्टियन इरिक्सनले गोल गरेपछि टोटेनह्यामले इङलिस प्रिमियर लिगमा बर्नलीमाथि १–० को जित निकालेको छ । घरेलु मैदानमा बर्नलीलाई स्वागत गरेको टोटेनह्यामका लागि इरिक्सनको गोल जित निकाल्न निर्णायक बन्यो । 
६५औं मिनेटमा लुकास मोउरोलाई स्थानान्तर गर्दै मैदान प्रवेश गरेका इरिक्सनले अन्तिम समयमा गोल गर्दै टोलीको जित सुनिश्चत पारेका थिए । इरिक्सनले ह्यारी केनको पासमा गोल गरेका थिए । त्यसअघि अवसर उपयोग गर्न नसकेका केनले विपक्षी रक्षकका कमजोरीको फाइदामा इरिक्सनलाई उपलब्ध गराएको बल गोलमा परिणत भएको थियो । जितपछि टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिन्होले टोलीका लागि यो साता निकै फलदायी भएको बताए । 
“टोलीका लागि यो साता निकै उत्कृष्ट रह्यो र जित निक्कै शानदार रह्यो । अबको लक्ष्य यही शक्तिलाई कायम राख्नु हुनेछ,” उनले थपे, “म सम्पूर्ण खेलाडीलाई बधाई दिन चाहन्छु कि यो जित हाम्रा लागि निकै महत्वपूर्ण छ ।”
च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सिलोनाविरुद्ध मैदान उत्रिनुअघि टोलीलाई आफ्ना कमजोरी पत्ता लगाउनु आवश्यक रहेको पनि उनले बताए । जितपछि टोटेनह्याम ३९ अंकका साथ तेस्रो स्थानमा छ । १७ खेलमध्ये टोटेनह्यामले १३ मा जित र ४ खेलमा हार बेहोरेको छ । १२ अंकका साथ बर्नली पुछारबाट चौथो स्थानमा छ । 
बर्नलीले ३ मा जित ३ मा बराबरी र ११ खेल पराजय भोगेको छ । इङलिस प्रिमियर लिगमा शनिबार राती नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लेष्टर सिटीमाथि १–० को विजयी नतिजा निकाल्यो । क्रिष्टलको जितमा लुका मिलोभोजेभिकले ३९औं मिनेटमा गरेको एकमात्र गोल निर्णायक बनेको थियो । उल्भसले बर्नमाउथ र वेष्ट ह्यामले फुलह्यामलाई समान २–० ले पराजित गर्दा न्युक्यासलले हडर्सफिल्डमाथि १–० ले विजयी भएको छ । अर्को खेलमा वाट्फोर्डले कार्डिफ सिटीविरुद्ध ३–२ को जित निकालेको थियो । 

प्रतिकृया दिनुहोस