पूर्वाधार नहुन्जेल ‘फ्रि भिसा’ भए पनि पर्यटक आउँदैनन्

मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रमा पाँच दशकदेखि निरन्तर सक्रिय भोलाविक्रम थापा (७३ वर्ष) यस क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन् । तत्कालीन समयका केही ठूला तारे होटल र ट्राभल एजेन्सीमा केही वर्ष कर्मचारीका रूपमा काम गरेको अनुभव सँगालेका थापा झन्डै चार दशकदेखि देशकै ठूला र प्रतिष्ठितमध्ये पर्ने ट्राभल कम्पनी ‘प्रेसिडेन्ट ट्राभल्स’ हाँकिरहेका छन् । प्रेसिडेन्टकै नामबाट खोलिएको ‘प्रेसिडेन्ट ग्रुप अफ कम्पनिज’ का अध्यक्ष थापालाई दर्जनौं विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल ल्याउने श्रेयसमेत जान्छ ।

 

नेपालको पर्यटन उद्योगलाई नजिकबाट नियालेका उनीसँग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थुप्रै संघसंस्थामा काम गरेको अनुभव छ । उनको कम्पनी क्वान्टास एयरवेज, गल्फ एयर, केन्या एयरवेज, इन्डिगो एयरलाइन्स, एयर मौरिसस, मलेसिया एयरलाइन्स, एयर अरेबिया, भर्जिन एट्लान्टिक एयरवेज र रेल युरोपको नेपालका लागि आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) हो । त्यसै गरी प्रेसिडेन्ट ट्राभल्स अमेरिकी ट्राभल कम्पनी कार्लसन वागनलिट र जर्मनीको हान एयरको विशेष व्यापार साझेदार पनि हो । प्रेसिडेन्ट ग्रुपअन्तर्गत हाल एक दर्जनहाराहारी कम्पनी सञ्चालनमा छन् । तीन कर्मचारीबाट सुरु भएको उनको कम्पनीमा हाल २ सय ५० जना काम गर्छन् ।

 

हाल युरोपेली राष्ट्र बुल्गेरियाको नेपालका लागि अवैतनिक वाणिज्यदूत समेत रहेका थापासँग उनका अनुभव, पर्यटन क्षेत्रका विद्यमान समस्या, गर्नुपर्ने सुधार, नेपाल भ्रमण वर्ष २०२०, पर्यटन प्रवर्द्धनमा सरकार र निजी क्षेत्रको भूमिका र चुनौतीबारे बाह्रखरीका सुशील भट्टराई र रोविन पौडेलले गरेको कुराकानीः

 

पर्यटन क्षेत्रमा तपाईंको प्रवेश र आफ्नो करियरका सुरुवाती दिनबारे केही बताइदिनुहोस् न !

 

म सेन्ट जेभियर्स स्कुलमा पढेका कारण नेपाली विषयमा एकदमै कमजोर थिएँ । बोल्न र लेख्न कम जान्ने हुनुका साथै पढाइमा पनि खासै मन थिएन । त्यसकारण काम कम गर्नुपर्ने र आम्दानी पनि राम्रो हुने व्यवसायको खोजीमा थिएँ । यस हिसाबमा आफूले काम गर्न उपयुक्त हुने क्षेत्र पर्यटन रहेको पाएँ । पर्यटन क्षेत्रको पहिलो खुड्किलोका रूपमा यती ट्राभल्समा काम गर्न थालेँ तर, काम भने कहिल्यै ठग्दिनथेँ । नुनको सोझो गर्न आउँथ्यो । यतीमा टिकेटिङको काम गर्थेँ ।

 

त्यसबेला आफूलाई सिकाउने मान्छे कमै पाइन्थे । मलाई सँगै काम गर्ने शंकर पौडेल नामका एकजना साथीले काम सिकाए । मैले टिकेटिङबारे सम्पूर्ण ज्ञान बटुलेँ । मलाई ‘अर्निङ’ भन्दा ‘लर्निङ’ गर्नु थियो । कारणवस यती ट्राभल्स छोड्नुपर्‍यो । लगत्तै एभरेस्ट एक्स्प्रेसमा काम गरेँ ।

 

त्यसपछि प्रेसिडेन्ट ट्राभल्स किन्नुभयो ?
त्यसपछि हाम्रो एउटा समूहले सन् १९८२ मा प्रेसिडेन्टको स्वामित्व किन्यौं । त्यसबेला ट्राभल एन्ड टुर्सको अनुमतिपत्र हासिल गर्न साह्रै गाह्रो थियो । सञ्चालन भइरहेको तर घाटामा रहेको कम्पनी किन्ने निधो गर्‍यौं । १९७६ मा स्थापना भएको प्रेसिडेन्ट मार्क कार्थक, प्रसिद्ध लेखक पिटर जे कार्थक र म मिलेर किन्यौं ।

 

पिटरलाई अध्यक्ष बनायौं तर, उहाँको खर्च गर्ने बानीले हामीलाई समस्यामा पार्‍यो । त्यसबेला मार्कले टुर हेर्थे भने टिकटको जिम्मा मैले लिएको थिएँ । त्यसपछि १९८४ मा म बिरामी भएँ । नयाँदिल्लीमा उपचार गरेर फर्किंदा परिस्थिति परिवर्तन भइसकेको रहेछ । जसले गर्दा उनीहरूले कम्पनीबाट हात झिके ।

 

 

तपाईंको व्यवसायको ‘टर्निङ प्वाइन्ट’ के थियो ?
कार्थक भएको समयदेखि नै कम्पनी जताततै कालोसूचीमा थियो । घरबेटी, बैंकदेखि नेपाल वायुसेवा निगमसम्मले ताकेता गर्ने गर्थे । कम्पनीले कसैलाई पैसा तिरेको रहेनछ । घरबेटीले घर छाड्नुस् भन्थे । मैले आफैंले अनुरोध गरेँ, केही मत्थर भयो । वायुसेवा निगममा मेरो आत्मीय मित्र अनुप राणा प्रबन्ध निर्देशक थिए ।

 

उनीसँगको सम्बन्ध उपयोग गर्दै कम्पनीले टिकेटिङमा सम्झौता गरेपछि कम्पनीको बिजनेसमा सुधार हुन थाल्यो । टिकट कम्पनीको प्रोडक्ट भनेको टिकट नै हो, हामीले टिकट बेच्न थालेदेखि नै गति लिन थालेको हो । त्यसैगरी नेपाल बैंकमा आनन्दभक्तजी जीएम हुनुहुन्थ्यो । उहाँलाई एउटा पार्टीमा भेट्दा आफ्नो गुनासो राखेँ ।

 

मैले मारवाडीलाई पैसा दिने, हामीलाई चाहिँ ओभरड्राफ्ट, लोन र बिल अफ पर्चेज केही पनि नदिने भनी प्रश्न राख्दा उनले मलाई भोलिपल्ट अफिसमा भेट्न बोलाए । भोलिपल्ट उनले हामीलाई बिल अफ पर्चेज दिने आश्वासन दिए । नभन्दै बैंकले हामीलाई बिल अफ पर्चेज दियो । त्यसबेला बिल अफ पर्चेजको ठूलो महत्व थियो । हामीलाई बैंकले बिल अफ पर्चेज दिएपछि कारोबार समय १५ दिनबाट छोटिएर एकै दिनमा हुने भयो । यसको अर्थ कम्पनीलाई मैले आफ्नै पब्लिक रिलेसनले उकासेको हुँ ।

 

तपाईंले दर्जनौं विदेशी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई नेपाल ल्याउने श्रेय जाने गर्छ । विदेशी वायुसेवा कम्पनीको आधिकारिक बिक्री प्रतिनिधि (जीएसए) ले प्रेसिडेन्टको व्यापारमा कस्तो भूमिका खेलेको छ ?
जीएसको कुरा गर्दा अस्ट्रेलियको सरकारी वायुसेवा कम्पनी क्वान्टस एयरलाइन्स दिमागमा आउँछ । हामीले गल्फ एयरको पहिलो जीएसए लिए पनि क्वान्टासका कारण मैले ठूलो टर्नओभर गरेको छु । क्वान्टासको जीएसए पहिले अफलाइन थियो । आफूसँग प्रोडक्ट भएपछि सेल गर्न सक्ने मेरो खुबी थियो । तीन अंक ल्याउन के–के गर्नुपर्छ सबै गरेँ ।

 

अहिलेसम्म पनि क्वान्टासको टिकट बिक्री हुने दक्षिण एसियाली सहरमा काठमाडौं अग्रस्थानमा आउँछ । हामीले कोलकातालाई पनि पछि पारिसक्यौं । सिंगापुरको टुरमा पनि हामीले सर्वसाधारणलाई क्वान्टास चढायौं । यहाँबाट सिंगापुर नेपाल एयरलाइन्सको जहाज, भाडासूची बनाएर बिजेनस गर्‍यौं । सिंगापुरको टुर पनि अनौठोको बनायौं । टुर नै ‘गो बाई सिंगापुर–कम बाई बैंकक’ बनायौं ।

 

यसो गर्दा हामीले क्वान्टासबाट ३ अंक पाउँथ्यौं । अस्ट्रेलियामा पनि हामीले त्यस्तै बनायौं । एउटै टिकटबाट फरक–फरक तीन सहर घुम्न पाइन्थ्यो । मान्छेमा राम्रो च्वाइस हुन थालेपछि राम्रो सेल हुन थाल्यो । इमिरेट्सको प्रतिस्पर्धामा प्रेसिडेन्ट र युनिभर्सल थिए । गल्फमा पनि ठूलो संघर्ष गरेँ । पहिले अफलाइन रहेको गल्फ अनलाइन भएपछि हामीले आम्दानी बढाउन थाल्यौं । टिकट सेल गरेपछि कमिसन आउन थाल्यो, कार्गो पनि ढुवानी गर्न थाल्यौं ।

 

 

गल्फ एयरको नेपाल उडान चाहिँ किन बन्द भयो ?
गल्फ फिर्ता जानुको कारण प्रतिस्पर्धा बढ्नु हो । गल्फ हुँदा इमिरेट्स, कतार केही थिएन । तसर्थ, मध्यपूर्व र युरोप जानेका लागि गल्फ सबैभन्दा उचित विकल्प थियो । त्यसबेला नेपाली कामदार मध्यपूर्व जान थालिसकेका थिए र गल्फ सधैं प्याक हुन्थ्यो । एयरलाइन्स यहाँबाट कामदार गए, उताबाट पर्यटक बोकेर आउने गर्दथे ।

 

पछि कम्पनी बढेपछि उतैबाट टिकट लिएर आउनेको संख्या बढ्यो । यता स्टेसनमा फ्लाइट फूल भए पनि स्टेसनको आम्दानी देखिएन । तसर्थ, हामीले यहाँ बिजनेस जेनेरेट गर्न सकेनौं । अर्को कुरा, उनीहरूको आफ्नै लफडा पनि थियो । गल्फमा नयाँ मान्छे आएपछि कोलम्बो, ढाका र नेपाल गरी तीनवटै स्टेसन बन्द गरियो । गल्फ गएपछि कार्गोले पनि हामीलाई उकासेको हो ।

 

तपाईंले जीएसए गरेका कम्पनीमध्ये रेल युरोप पनि एउटा हो । त्यसको बिजनेस नेपालमा कस्तो छ ?
अहिले १२–१३ वटा एयरलाइन्सको जीएसए गर्ने गरेको छु । रेल युरोपको कुरा गर्दा टिकट माग उच्च छ । युरोपमा ट्रेन चढ्नका लागि यहाँबाट टिकट काट्न सकिन्छ । त्यसबेला मासिक ५–६ हजार डलरको टर्नओभर हुने गरेकोमा अहिले त्यो बढेर मासिक १ लाख डलरसम्म हुने गरेको छ । पहिले सम्बन्धित देशको भिसा लिएर यहाँबाटै आवश्यक पर्ने देशको टिकट लिन मिल्छ । स्वीजरल्यान्ड, बेलायतलगायत युरोपका लगभग सबै देशको टिकट पाइन्छ ।

 

पर्यटन व्यवसायमा ५० वर्षको अनुभवमा पर्यटन खासमा के रहेछ ?
टुरिज्म (पर्यटन) बाट जति लिन सक्नुपर्ने हो हामीले अहिलेसम्म लिन सकेका छैनौं । हामी पर्यटनप्रति हाफाजार्ड तरिकाले गयौं । पर्यटन व्यवसायमा सरकारको आजसम्म केही सहयोग भएको छैन र हुन्छ जस्तो पनि लाग्दैन । केही भ्रमण वर्ष मनाए पनि केही हुनेवाला छैन । पर्यटकलाई फ्रि भिसा दिए पनि पर्यटक नेपाल आउन तयार छैनन् ।

 

यस्तो किन ?
पूर्वाधार अभाव । सरकार पूर्वाधार विकासमा पछि परेको छ । न त हवाई सञ्जाल विस्तार भएको छ न त सडक पूर्वाधार पर्यटकलाई खुसी दिलाउन योग्य छन् । तसर्थ, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले पर्यटनको उच्च सम्भावना रहे पनि यस व्यवसायबाट सरकार र निजी व्यवसायी दुवैले उच्चतम फाइदा लिन सकेका छैनन् ।

 

तर, पर्यटककको संख्या त बढेको देखिन्छ नि ?
पर्यटकको संख्या बढ्नुको कारण नेपाली स्वयं बाहिरबाट फर्किनु हो । उदाहरणका लागि अस्ट्रेलियामा लाखौं नेपाली छन्, अन्य देशमा पनि संख्या उस्तै छ । उनीहरू समय–समयमा घर फर्किंदा पनि पर्यटकको रूपमा गनिन्छन् ।

 

त्यसोभए नेपाली नै फर्केर आउनुमात्र पर्यटकको संख्या बढ्नुको कारण हो त ? सम्भावना पनि छन् नि !
नेपालको पर्यटन व्यवसायलाई ट्रेकिङ व्यवसाय मान्दा पनि हुन्छ । यहाँको एडभेन्चर टुरिज्मको बजार कल्चरल टुरिज्म वा रिलिजियस टुरिज्मभन्दा सुदृढ छ । पहिले झैं युरोपबाट कल्चरल टुरिज्मको प्याकेजमा ३ रात ४ दिनको यात्रा पर्दछ भने धार्मिक पर्यटन प्याकेजमा ४ रात ५ दिनको यात्रा पर्दछ ।

 

एडभेन्चरमा पोखरा जोड्दा ६ रात ७ दिनको यात्रा हुन्छ । ट्रेकिङ गर्न चाहनेले ११ रात १२ दिनसम्मको समय बिताउँछन् । हामीले पूर्वाधारको अभावमा सोचेजति पर्यटक ल्याउन सकेका छैनौं । अर्को कुरा अहिले नेपाल आउने जाने टिकट पनि महंगो छ ।

 

 

नेपाल आउने जाने टिकट पनि महँगो हुनुको कारण के हो ?
नेपाल आउने एयरलाइन्सको संख्या जति बढी भयो टिकट त्यति सस्तो हुन्छ । सस्तो टिकट भए पर्यटकको संख्या बढ्छ । यहाँ राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको आफ्नै हविगत खराब छ ।

 

नेपाल एयरलाइन्सले प्रगति गर्न नसक्नुको कारण के होला ?
नेपाल एयरलाइन्स (आरए) मा भिजनको अभाव थियो र अझै छ । कुनै दिन संस्था टिकाइदिने मान्छे भए पुग्छ भन्ने अवस्था थियो । आरए काठमाडौं–फ्रयांकफर्ट, काठमाडौं–लन्डन, काठमाडौं–पेरिस उडानमै सीमित रह्यो । गन्तव्य बढाउने, भाडा दर सस्तो बनाउने आदि गरेको भए अन्य स्थानबाट पनि पर्यटक आउँथे । अहिले पनि जहाज आएर उडान भर्न सकेको छैन ।

 

यसमा उनीहरूको आन्तरिक समस्या होला । तर, अहिले ग्राउन्डेड भएका जहाज उडे भने पर्यटक नेपाल आउँछन् । राष्ट्रिय ध्वजावाहक हुनुमा फाइदा यही हो । डाइरेक्ट फ्लाइट हुनुको साथै भाडा पनि सस्तो हुन्छ । युरोप जान सके पर्यटक अवश्य भित्रिन्छन् ।

 

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको कुरा गरौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखेपछि पर्यटक दोहोर्‍याएर नेपाल आउने सम्भावना एकदमै कम छ । अब अर्को अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ कि भएकोलाई सुधार्नुपर्छ ?
अहिलेका पर्यटन मन्त्री निजगढ विमानस्थल बनाउन प्रतिबद्ध हुनुहुन्छ । उहाँ ऊर्जावान हुनुहुन्छ । निजगढमा विमानस्थल बनाउने विषयमा उहाँ सकारात्मक देखिनुहुन्छ । आफ्नै कार्यकालमा विमानस्थल निर्माण सम्पन्न गर्ने उहाँको प्रतिबद्धता, उहाँको निर्णय लिने तथा निर्देशन दिने सामथ्र्य हेर्दा निजगढ चाँडै बन्छ जस्तो लाग्छ ।

 

राम्रो काम गर्ने क्रममा अर्को कुरा केही तत्व विरोध गर्न निस्किन्छन् । तर, अहिले र आउने दिनको आवश्यकता बुझेर काम गर्नुपर्छ जस्तो लाग्छ । विमानस्थल बनाउन रुख काट्नुपर्छ भन्ने कुरा निस्किएकोमा विरोध हुनु स्वाभाविक हो ।

 

प्राकृतिक स्रोतको संरक्षण गर्नु सबैको धर्म हो तर, अहिलेको आवश्यकता विमानस्थल हो । अहिले रुख काटेर पर्यटन व्यवसायको भविष्य उज्वल देखिन्छ भने हामीले केही स्याक्रिफाइस दिनुपर्छ । यसको समाधानका लागि निजगढमा काटेको रुखको सट्टा अन्य स्थानमा वृक्षारोपण गर्नुपर्छ ।

 

निजगढ बनाएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल के गर्ने ?
म त्यही भन्दै छु । निजगढलाई अन्तर्राष्ट्रियमात्र विमानस्थल बनाउनुपर्छ । त्यहाँबाट काठमाडौंको उडान नेपाल एयरलाइन्सले मात्र भर्नुपर्छ र देशका अन्य स्थानमा हुने उडान काठमाडौंबाट गर्नुपर्छ । यसो गरे नेपाल आउने पर्यटक संख्या बढ्छ भने नेपाल एयरलाइन्सको बिजनेस पनि बढ्छ ।

 

काठमाडौं विमानस्थलको मुहार केही फेरिए पनि अन्य सुधार हुन सकेका छैनन् । चौबीसै घन्टा सञ्चालन हुन सक्दैन, धावनमार्गको संख्या अपुग छ, रनवेलाई टपिङ गर्न सकिएको छैन । आवश्यक परे विमानस्थल बन्द गरेर अर्को स्थानमा अवतरण गराउने स्थान छैन । त्यही पनि अहिले २८ वटा एयरलाइन्सले नेपाल उडान गर्छन् । हरेकले १० जना विदेशी पर्यटक ल्याए पनि दैनिक २ सय ८० जना भित्रिन्छन् ।

 

 

सुधारका बाटा के होलान् ? पर्यटक ल्याउन नेपाल पर्यटन बोर्डले गरेको काम तपाईंलाई कस्तो लाग्छ ?
सरकारले अरूभन्दा पनि पूर्वाधार विकासमै जोड दिनुपर्छ । बाटो, एयरपोर्ट बनाइदिए पुग्छ किनकि नेपालको पर्यटन विकास निजी क्षेत्रले गरेका हुन् । अन्तर्राष्ट्रिय सम्मेलनमा निजी क्षेत्र जान्छन् । नेपाललाई प्रतिनिधित्व गर्छन् । होटल व्यवसाय र ट्राभल एन्ड टुर व्यवसायीले ल्याएका हुन् ।

 

मैले पहिलेदेखि भन्दै आएको छु । पर्यटन बोर्डमा पर्यटनका स्टेकहोल्डर मात्र हुनुपर्छ । जसले पर्यटन व्यवसायमा प्रत्यक्ष लगानी गरेका छन्, उनीहरूले पर्यटन विकासका लागि गठन भएको संस्थामा काम गरे अपनत्व बढ्छ । दुई वर्ष ट्रेकिङको काम गरेका बोर्डमा भए पर्यटन विकास चौपट हुन्छ ।

 

अनुभवी मान्छे हुनुपर्छ । बोर्डमा बसेर भत्ता खाने हैन एडभाइस दिन सक्षम हुनुुपर्छ । अध्यक्ष पनि निजी क्षेत्रबाटै हुनुपर्छ । बोर्डका मान्छे उत्तरदायी हुनुपर्छ । तीन–तीन महिनामा सरुवा हुने सरकारका सचिवलाई बोर्डको अध्यक्ष बनाउनुको तुक छैन । यहाँ पर्यटन विकास नहुनुमा केही गल्ती हाम्रो पनि छ । सचिव र मन्त्रीलाइ उचाल्ने हामी नै हो । मोजसस्ती गर्न र सुविधा पाएर देश–विदेश घुम्न चाहने बोर्डमा आउनु हुँदैन ।

 

बोर्डले गरेको काम कत्तिको प्रभावकारी छ ? अन्तर्राष्ट्रिय मार्टमा भाग लिएरमात्र पर्यटन विकास होला ?
पर्यटन बोर्डको काम चेतना विकास गर्ने हो । उहाँहरू विदेशमा गएर चेतना वृद्धि गर्नुपर्छ । यसका लागि डिजिटल मिडिया प्रोमोसन उत्तम विकल्प हो । सीएनएन, बीबीसी, चिनीयाँ टेलिभिजनमा नेपालको विज्ञापन प्रसारण हुनुपर्छ । त्यसमा पैसा खर्च गर्नुपर्छ । कनिका छरेजसो जहाँ पायो त्यहाँ पैसा फालेर पर्यटन विकास हुँदैन । बोर्ड निजी क्षेत्रसँग गएर काम गर्नुपर्छ । व्यापार गर्ने काम पर्यटन बोर्ड वा सरकारको होइन । बोर्डले संयोजन गर्नुपर्छ ।

 

पर्यटक ल्याउन छिमेकी देश चीन र भारतसँग मात्र भर पर्ने कि युरोप अमेरिकी बजारतिर पनि लाग्ने हो ?
सबै सामथ्र्य एउटै डोकोमा खन्याउनु हुँदैन । चीन र भारतले मात्र हुँदैन । हामीलाई येनमात्र हैन, डलर पनि आवश्यक छ । सीएनएनमा विज्ञापन गरे करोडौंले हेर्छन् नि ।

 

पर्यटन बोर्डले नेपालबाट फर्कने प्रत्यके पर्यटकसँग ११ सय रुपैयाँ शुल्क लिन्छ र यसबाट वार्षिक डेढ अर्बहाराहारी आम्दानी गर्छ । त्यो पैसा उचित ठाउँमा खर्च भएजस्तो लाग्छ ?
५ सय रुपैयाँबाट ११ सय पुर्‍याएको विषयमा मैले पहिले नै बोर्डसँग असन्तुष्टि जनाएको थिएँ । त्यो ५ सय पनि उचित स्थानमा प्रयोग हुनुपर्छ । मेरो एकमात्र आवाज के हो भने नेपाल पर्यटकीय सम्भावना बोकेको देश हो भन्ने सूचना हरेक देशमा पुग्नुपर्छ । नेपालका सांस्कृतिक, प्राकृतिक महत्वको प्रचारप्रसार गरिनुपर्छ ।

 

त्यो पैसा पर्यटकको संख्या बढाउने ठाउँमा खर्च गर्नुपर्छ । जब प्रचार हुन्छ, पर्यटक ट्राभल कम्पनीको प्याकेजभन्दा बाहिर गएर नेपाल आउन खोज्दछन् । विज्ञापन गर्नेबित्तिकै रोमान्चक पर्यटन रुचाउने नेपाल खोज्दै आइपुग्छन् । अहिले कतिलाई नेपाल देश छ भन्ने थाहै छैन, अमेरिकी राष्ट्रपति स्वयंले ‘नेपाल’ उच्चारण गर्न सकेनन् ।

 

वषौंदेखि हामी यही सगरमाथा, पोखरा, चितवन र लुम्बिनीको भर परिहेका छौं । नेपालमा भएका सम्भावना यतिमात्र हो ?
अन्य सम्भावना बोकेका स्थान ओझेलमा पर्नु भनेको पूर्वाधारको अभाव हुनु हो । बर्दिया जान किन समस्या छ भने सडकबाट जान १ दिन लाग्छ तर १ घन्टाको उडान साह्रै महँगो छ । पूर्वाधार अभावमा ३ हजार किलोमिटर परिधि बिरानो भएको छ ।

 

तर, साँच्चै प्रधानमन्त्रीज्यूले रेल ल्याइदिनु भयो भने पर्यटक रेल चढेर नेपाल सयर गर्छन् । पर्यटकको संख्या गनेर नभ्याउने दिन आउँछ । सोच्नुस् त, चितवन जान १२ घन्टासम्म लाग्छ । पर्यटकको अनुभव तीतो हुन्छ । 

 

भिजिट नेपाल १९९८ र नेपाल पर्यटन वर्ष २०११ दुवै नजिकबाट नियाल्नुभयो । १९९८ मा ५ लाख पर्यटक ल्याउने लक्ष्य पूरा भएन । न त २०११ मा १० लाख ल्याउने लक्ष्य पूरा भएको थियो । भिजिट नेपाल २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य कसरी सम्भव होला ? सरकारको लक्ष्य के हुनुपर्ला ?

 

यो भिजन राम्रो हो । निजी क्षेत्र तयार पनि छन् तर, पूर्वाधार विकास भएको छैन । यसरी पर्यटक आउँदैनन् । अर्को कुरा, भिजिट नेपाल २०२० को प्रचारप्रसार पनि कम छ । हामीले २०११ मै प्रचारप्रसार कम भयो भनेर सचेत गराउँदा पनि केही भएको थिएन । पर्यटन मन्त्रालयले केही सुन्दै सुनेन । २०२० को भिजन त राम्रो हो, तर प्रश्न छ, “सरकारले सडक सञ्जाल सुधार्ला, विमानस्थल स्तरोन्नति गर्ला ? हायात जानुपरे सजाय, गोकर्ण जानुपरे पनि सजाय, गाडी चढेर पोखरा जाँदा ३ घन्टामा थानकोट कटिँदैन । सधैं एक्स्क्युजमात्र खोजिने गरेको छ । यसको जड भ्रष्टाचार नै हो ।

 

 

नेपालमा भएका होटलले २० लाख पर्यटक थेग्लान् त ?
नेपालमा भएका होटल रुमले पक्कै पनि थेग्छन् । अब गुणस्तर र सेवामा केन्द्रित हुन जरुरी छ ।

 

नेपाल एयरलाइन्सको नाजुक अवस्था कसरी सुधार होला ?
मैले देखेअनुसार जबसम्म निगममा काम गर्ने कर्मचारीमा अपनत्वको भावना जागृत हुँदै निगम जस्ताको तस्तै हुन्छ । निगम सबैको कमाउने भाँडो बनेको छ तर सुधार गर्न कोही अग्रसर छैन । निगमको न कार्यकारी अध्यक्ष उत्तरदायी छन्, न त महाप्रबन्धक ।

 

म त भन्छु नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्छ । सरकारको नाममा ४० प्रतिशत हिस्सामात्र सेयर हुनुपर्छ । हेर्नुस् त, बुद्ध एयर चलेको छैन ? यती चलेको छैन ? श्रीको अवस्था नराम्रो छ र ? निजी क्षेत्रको व्यवस्थापन एकदमै राम्रो छ । त्यसैले टिकेको छ । जनसुकै देशमा पनि सरकारले सेवा पुर्‍याउनपर्छ ।

 

सरकार बिजनेस गर्न लागेपछि नेपाल एयरलाइन्सकै अवस्था आउँछ । ग्राउन्ड ह्यान्डलिङकै कुरा गरौं । विमानस्थलमा निजी कम्पनीलाई व्यवस्थापनको जिम्मा दिऔं, मुनाफा आर्जन हुन सुरु हुन्छ । प्रोटेक्सन दिएर हुँदैन, प्रतिस्पर्धाले क्षमता बढ्छ । हेर्नुस् त, ट्राभल एजेन्सीको अनुमतिपत्र प्राप्त गर्न कति गाह्रो थियो । अहिले १२ सयवटा एजेन्सी दर्ता भइसकेका छन् । तसर्थ, यो व्यवसाय मर्यादित भएको छ । सरकारको भिजन कहिले पनि राम्रो आएको अनुभव भएन ।

 

पर्यटन क्षेत्र विकासका लागि सरकारले के गरिदेओस् जस्तो लाग्छ ?
पर्यटन क्षेत्रका लागि सरकारले केही गर्नुपर्दैन, मात्र देश बनाइदिए पुग्छ । बाटोघाटो विमानस्थल मात्र बनाइदिए पुग्छ । हामी फ्रि भिसा माग्दैनौं, फ्रि बस, कार चाहिएको पनि होइन, कर मिनाहा पनि गर्नुपर्दैन । मैले नयाँ पर्यटक बस लिएको छु, चाँडो–चाँडो बिग्रेर हैरान । पर्यटक ओसार्ने व्यवसाय सञ्चालन गर्ने अनि डुब्दैन त ? अझै अहिले विमानस्थलमा नचाहिने चेकिङ गरिन्छ भन्ने सुनेको छु । यसरी दुःख पाएपछि कसलाई यहाँ फेरि फर्कन मन लाग्छ होला ।

 

प्रसिडेन्ट ग्रुप अफ कम्पनिजको कुरा गरौं, तपाईंको आउने दिनका लागि के–कस्ता योजना छन् ?
अबको केही वर्षपछि ट्राभल एजेन्सी व्यवसाय बन्द हुन थाल्छन् । प्रविधिको युग विकास भएसँगै घरबाटै आफैंले टिकट काट्न सक्ने अवस्था आउन थालेको छ । क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोग हुन थालेपछि ट्राभल एजेन्सी धाउने क्रम घट्छ । अहिले गेटवे अफ पेमेन्टमा भएको झमेलाले पनि सर्वसाधारणलाई अप्ठेरो परेको छ । सरकार र निजी क्षेत्र देशको उन्नतिका लागि मिलेर काम गर्नुपर्छ । आउने दिनमा मार्केट हेरेर लगानी गर्छु ।

 

तपाईंले आतिथ्य व्यवसायअन्तर्गत होटल पनि चलाउनुभएको छ । ठूला होटलमा लगानी गर्ने कत्तिको सोच छ ?
मेरो उमेर ढल्किँदै गएका कारण अब धेरै ठाउँमा हात हाल्न बिस्तारै रोक्न थालेको छु तर, काम गरिरहनुपर्ने (वर्कोहोलिक) बानीले काम नगरी बस्दा छटपटी हुने रहेछ । उमेर ढल्किँदै गए पनि अझै केही गर्न सक्छु भन्ने छ । मेरो बानी आफूले प्रदान गर्ने सेवाको स्तरोन्नति गर्न अगाडि बढाउँछ ।

 

यसो गरे आम्दानी बढ्ने कुरा मेरो अनुभवले सिकाएको छ । मेरो जीवनकालमा होटलमा काम गरेँ, होटल चलाएँ, पाँचतारे होटलको बोर्डमा बसेँ । अब हात हाल्नेभन्दा सुझाव दिनेतर्फ म अग्रसर रहनेछु । छोरालाई व्यवसायमा प्रवेश गराएको छु । अब पैसा कमाउनुपर्ने आवश्यकता पनि छैन ।

 

५० वर्षको आतिथ्य सेवाको अनुभव र प्रेसिडेन्ट ट्राभल्सको ४० वर्षे अनुभवले आजको दिनमा कत्तिको सुन्तष्टि दिएको छ ?
मान्छे कदापि सन्तुष्ट हुन सक्दैन । म कहिल्यै सन्तुष्ट हुन नसक्ने बानीले मलाई परिश्रमी बनायो र यहाँसम्म ल्याइपुर्‍याएको हो । मलाई अझै पनि थाहा छ कि मैले धेरै काम गर्न बाँकी छ तर, जति गर्न सकियो, राम्रो गरियो । थिङ्गस् ह्याभ बिन चेन्ज्डज, र अहिले अवस्था अलि मुश्किल पनि छ । म यो कुरामा खुसी छु कि मैले सयौंलाई रोजगारी दिएँ, उनीहरूलाई खुसी बनाएँ । अहिले पनि प्रेसिडेन्ट ग्रुपमा साढे २ सयजनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

 

तपाईंको कार्यशैली देखेर धेरैले यस्तै कामको थालनी गरेका छन्, कोही तपाईंभन्दा सफल पनि भइसके । के भन्नुहुन्छ ?
यहीँबाट सिकेर गएका मध्ये कोहीले प्रेसिडेन्टकै नाममा अमेरिकामा अर्को कम्पनी खोलेर बसेका छन्, कोही एयरलाइन्स कम्पनीका कन्ट्री म्यानेजर भएका छन् । यही काम गरेर सिक्नेहरूको सफलता देखेर आज म खुसी छु र बेला–बेला उनीहरू खुसी साट्न बोलाउँछन् । यो नै मेरो सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो ।

 

तस्बिर–सौरभ रानाभाट

प्रतिकृया दिनुहोस