शान्ति सुरक्षा आमरूपमा सुदृढ भएको सरकारको निष्कर्ष बलात्कारीलाई जन्मकैदको व्यवस्था गरिँदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति सुरक्षाको अवस्था सुदृढ भएको बताएका छन् ।
देशभर हत्या–आतंक मौलाउँदै गएको शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालिरहँदा शनिबारबाट शुरू भएको पार्टी स्थायी कमिटीको तेस्रो बैठकमा उनले शान्ति सुरक्षाको वातावरण बलियो भएको बताएका हुन् ।

 

स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले मुलुकमा शान्ति–सुव्यवस्था कायम भएको मात्रै नबताइ संगठित अपराधको जालो तोडिएकोसमेत बताएका छन् । “गुण्डागर्दी, लुटपाट र अपहरणजस्ता आपराधिक घटनाहरूमा उल्लेख्य कमी आएको छ,” प्रधानमन्त्रीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ । तथापि महिला विरुद्धको हिँसामा कमी नआएको र हत्या, बलात्कारका घटनाहरू नियन्त्रण गर्न प्रभावकारी कदन चाल्न जरुरी रहेको समेत सरकारले बताएको छ ।

 

“विगतमा यस्ता घटनाहरू ढाकछोप गरिने, मेलमिलापमा लगेर टुंग्याइने र खुलेर यस्ता आपराधिक घटनाका बारेमा बोल्न र बाहिर ल्याउन नसक्ने अवस्था थियो,” स्थायी कमिटीमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा बलात्कारजन्य घटनाको ग्राफ बढ्नुको कारण देखाउने प्रयत्न गरिएको छ, “ तर, बढ्दो सामाजिक चेतनाका कारण अचेल यस्ता घटनाहरू सार्वजनिक हुन थालेका छन् ।”

 

बलात्कार र यौन दुव्र्यवहार महिला विरुद्धको गम्भीर अपराध चित्रित गर्दै, यस्ता घटनाहरूले समाजको एउटा हिस्सा क्रूर, पतीत र घृणित बन्दै गइरहेकोमा सरकारले दुःख व्यक्त गरेको छ । यस्तो घटनामा संलग्नलाई आजन्म कैदको व्यवस्था गर्न लागिएको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

 

उक्त प्रतिवेदन आइतबार सदस्यहरूले अध्ययन गर्नेछन् । सोमबार बस्ने बैठकमा राजनीतिक प्रतिवेदन र अन्य कार्यसूचीमाथि छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।

 

तस्बिर : रासस

प्रतिकृया दिनुहोस