कांग्रेस महासमिति बैठकमा तीनवटा प्रतिवेदन पेश, आजैदेखि छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकमा आइतबार तीन वटा प्रतिवेदन पेश भएका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा जारी महासमिति बैठकमा आइतबार बिहान महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र सह–महामन्त्री डा. प्रकाश शरण महतले छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका हुन् ।  
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्री कोइरालाले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष यादवले आर्थिक प्रतिवेदन, सहमहामन्त्री तथा अर्थ नीति निर्माण समितिका संयोजक महतले आर्थिक दस्तावेज प्रस्तुत गरेका जानकारी दिए । 
शनिबार उद्घाटन भएको महासमिति बैठकमा गएराति उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका थिए । ५ वटा प्रतिवेदन पेश हुनुपर्नेमा महासमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनको प्रस्ताव पेश गर्न भने बाँकी छ । 
प्रवक्ता शर्माका अनुसार बैठकमा पेश भएका चारवटै प्रतिवेदनमाथि आजैबाट बन्द सत्रमा छलफल शुरु हुनेछ । छलफललाई ७ वटा समूह बनाएर प्रदेशस्तरीय रुपमा अघि बढाउने तयारी गरिएको कांग्रेसले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस